
काठमाडौँ । अमेरिका र इरानबीच विभिन्न विषयमा वार्ता चलिरहेका बेला अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ । वार्ताबाट तनाव कम गर्ने प्रयास भइरहेका समयमा भएको यो आक्रमणले अन्तर्राष्ट्रिय राजनीति थप तनावपूर्ण बनेको छ ।
अमेरिकी सेनाले इरानसँग सम्बन्धित केही सैन्य लक्ष्यलाई निशाना बनाएर हवाई हमला गरेको बताइएको छ । आक्रमणपछि इरानले अमेरिकाको कदमलाई उक्साहटपूर्ण र अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिएको छ । इरानले आफ्नो सार्वभौमिकतामाथि हमला भएको दाबी गर्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी पनि दिएको छ । इरानी सेनाबाट आउने खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्न अमेरिकी सेनाले आज बिहान दक्षिणी इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालिएको दाबी गरेको समाचारमा उल्लेख गरिएको छ ।
दुवै देशबीच पछिल्लो समय परमाणु कार्यक्रम, क्षेत्रीय सुरक्षा र प्रतिबन्धलगायत विषयमा छलफल भइरहेको थियो । तर वार्ता जारी रहँदै सैन्य कारबाही भएपछि वार्ताको भविष्य अन्योलमा परेको विश्लेषण गरिएको छ । यस घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे