
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवालाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले देशका विभिन्न स्थानबाट उपचारका लागि आएका आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका बिरामी र उनीहरूका कुरुवालाई सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । अस्पतालमा लामो समयसम्म उपचार गराइरहेका बिरामीका आफन्तलाई दैनिक भोजन व्यवस्थापनमा कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको बैंकले उल्लेख गरेको छ ।
उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा आरती भोजन परिवारका अध्यक्ष अर्यालले भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
आरती भोजन परिवारले २०८१ मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवालाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।
कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गरी समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे