
काठमाडौँ । युरोपेली संघको नेपालस्थित प्रतिनिधिमण्डलले उच्चस्तरीय कूटनीतिक भ्रमण सुरु गरेको छ। युरोपेली संघकी नेपालस्थित राजदूत वेरोनिक लरेन्जोको नेतृत्वमा सदस्य राष्ट्रका २२ जना राजदूत तथा उपराजदूत सहभागी टोली २०८३ वैशाख १२ देखि १३ गतेसम्म नेपालमा रहेको छ।
यो भ्रमण नेपालको नयाँ सरकारसँग सम्बन्ध सुदृढ गर्दै नेपाल र युरोपेली संघबीचको दीर्घकालीन सहकार्यलाई पुनः पुष्टि गर्ने उद्देश्यले गरिएको हो। प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालका उच्च राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा छलफल गर्ने कार्यक्रम तय गरेको छ। मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग उच्चस्तरीय भेटवार्ता हुने छ। यसअघि सोमबार परराष्ट्र मन्त्री शिशिर खानाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै भेट तथा छलफल हुने कार्यक्रम रहेको छ।
त्यसैगरी प्रतिनिधिमण्डलले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेतृत्वसँग पनि अन्तरक्रिया गर्नेछ।
युरोपेली संघकी राजदूत वेरोनिक लरेन्जोले यो भ्रमण युरोपेली संघको नेपालप्रति प्रतिबद्धताको स्पष्ट संकेत भएको बताइन्। उनले नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकतामा सहयोग पुनः पुष्टि गर्न तथा व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका नयाँ अवसर विस्तार गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।
उनका अनुसार युरोपेली संघ र सदस्य राष्ट्रहरूले नेपालसँग मिलेर समावेशी आर्थिक वृद्धि, लोकतान्त्रिक सुशासन, शिक्षा तथा दिगो विकासका क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे