
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मुद्रा परीक्षण तथा प्रशोधन प्रणाली सञ्चालनका लागि खरिद गरेको अत्याधुनिक मेसिन हालसम्म प्रयोगमा आउन नसकेको पाइएको छ । राष्ट्र बैङ्क र बेलायतस्थित ‘क्यास प्रोसेसिङ्ग सोलुसन लिमिटेड’बीच २०७८ वैशाख २३ गते भएको सम्झौताअनुसार खरिद गरिएको उक्त मेसिन आपूर्तिपछि सञ्चालनविहीन अवस्थामा रहेको हो ।
मेसिन नेपाल भित्रिएपछि आपूर्तिकर्ता कम्पनी दिवालिया प्रक्रियामा गएपछि प्रणाली सञ्चालन, जडान तथा प्राविधिक व्यवस्थापन प्रभावित भएको जनाइएको छ । आवश्यक प्राविधिक सहयोग र सेवा उपलब्ध हुन नसक्दा राष्ट्र बैङ्कले खरिद गरेको मेसिन उपयोगमा ल्याउन सकेको छैन ।
यससँगै राष्ट्र बैङ्कले आपूर्तिकर्ताको तर्फबाट तिरेको रु. ३ करोड ५० लाख बराबरको भन्सार महसुलसमेत हालसम्म असुल गर्न सकेको छैन । सार्वजनिक स्रोतबाट गरिएको ठूलो लगानी उपयोगविहीन बनेपछि खरिद प्रक्रिया, जोखिम मूल्याङ्कन तथा आपूर्तिकर्ता छनोट प्रक्रियामाथि समेत प्रश्न उठेको छ ।
सम्बन्धित निकायले असुली प्रक्रिया अघि बढाउनुका साथै लामो समयदेखि थन्किएको मेसिन शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । मुद्रा व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको उपकरण प्रयोगविहीन रहँदा वित्तीय स्रोतको प्रभावकारी उपयोगमा समेत चुनौती देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे