
काठमाडौँ । मेटलाइफ नेपालले गम्भीर रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ बीमा राइडर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस राइडरले जीवन बीमा योजनासँग आबद्ध भई गम्भीर रोगको पुष्टि भएपछि बीमितलाई एकमुष्ट आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ।
नयाँ राइडरले क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजोसम्बन्धी रोग, मुटुरोग तथा प्रमुख अंग प्रत्यारोपणलगायत ११ प्रकारका गम्भीर रोगहरूमा आर्थिक सुरक्षा प्रदान गर्नेछ। बीमा सम्झौतामा उल्लेखित रोगको निदान भएपछि लाभ रकम तत्काल भुक्तानी गरिने भएकाले बीमितले उपचार र स्वास्थ्य पुनःस्थापनामा ध्यान केन्द्रित गर्न सक्ने कम्पनीले जनाएको छ।
मेटलाइफका अनुसार ‘क्रिटिकल इलनेस प्लस’ लाई किफायती र सहज रूपमा प्रयोग गर्न सकिने गरी विकास गरिएको हो। छुट्टै बीमा योजना खरिद गर्न आवश्यक नपर्ने यस राइडरलाई योग्य व्यक्तिगत जीवन बीमा योजनासँग जोड्न सकिन्छ। यसबाट प्राप्त रकम अस्पताल उपचार, विदेशमा उपचार, घरायसी खर्च व्यवस्थापन वा अन्य आर्थिक दायित्व पूरा गर्न प्रयोग गर्न सकिनेछ।
राइडर सार्वजनिक गर्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको स्वास्थ्यसँगै आर्थिक अवस्थामा पनि ठूलो असर पार्ने उल्लेख गर्दै यस्तो अवस्थामा ग्राहकलाई समयमै आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा ल्याइएको बताउनुभयो। उहाँले यस राइडरले ग्राहकलाई आर्थिक तनावभन्दा स्वास्थ्य लाभमा केन्द्रित हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यससँगै कम्पनीले आफ्नो समूह बीमा अन्तर्गतको ‘ग्रुप क्रिटिकल इलनेस राइडर’ लाई पनि थप परिमार्जन गरेको जनाएको छ। अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० वटा गम्भीर रोगसम्मको सुरक्षा विकल्प उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसले रोजगारदाताका लागि लागत प्रभावकारी समाधान प्रदान गर्नुका साथै कर्मचारी कल्याणका सुविधालाई समेत थप सुदृढ बनाउनेछ।
मेटलाइफ नेपालले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले उदीयमान स्वास्थ्य जोखिम र ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले थप व्यापक र प्रभावकारी बीमा समाधान विकासमा जोड दिँदै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे