
काठमाडौँ । सैनिक कल्याणकारी कोषको वित्तीय स्थिति सार्वजनिक गरिएको छ। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापना कार्यमा सहभागी नेपाली सेनाले प्राप्त गर्ने रकममध्ये केही हिस्सा कोषमा जम्मा गरी लगानीमार्फत ब्याज आर्जन गर्दै बहालवाला तथा पूर्व सैनिक र उनीहरूको परिवारको कल्याणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। २०३२ सालमा स्थापना भएको उक्त कोष सैनिक ऐन, २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली, २०६५ अनुसार सञ्चालनमा रहेको छ।
हाल विभिन्न मुलुकमा सञ्चालनमा रहेका १९ शान्ति मिसनमा ५ हजार ७४७ सैनिक कार्यरत रहेका छन्। कोषको कुल सम्पत्ति आषाढ मसान्त २०८२ सम्म ३.६८ प्रतिशतले वृद्धि भई ८९ अर्ब १० करोड ७३ लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ८५ अर्ब ९४ करोड ५३ लाख २ हजार रहेको थियो।
गैर चालु सम्पत्तिअन्तर्गत बैंक मौज्दात, विदेशी मुद्रामा गरिएको निक्षेप, सेयर, डिबेञ्चर तथा बचतपत्रमा गरिएको लगानी र विभिन्न कल्याणकारी योजनामा गरिएको लगानी उल्लेखनीय रूपमा रहेको छ। चालु सम्पत्तिअन्तर्गत पेश्की, सापटी, बैंक मौज्दात तथा नियन्त्रणमा रहेका निकायहरूको सम्पत्ति समावेश गरिएको छ।
कोषले मातहतका ३६ कार्यालयमा रहेका घरजग्गा, फर्निचर, सवारीसाधन तथा मेसिनरी औजारलाई सम्पत्तिमा समावेश नगरेको देखिएको छ। त्यस्तै केही निकायहरूको ठूलो परिमाणको पेश्की तथा धरौटी रकम समेत वासलातमा समावेश नभएको देखिन्छ, जसले समग्र वित्तीय विवरण पूर्ण रूपमा एकीकृत नभएको संकेत गर्छ।
कोषको दायित्वतर्फ कुल पुँजी तथा दायित्व बराबर ८९ अर्ब १० करोड ७३ लाख ९४ हजार रहेको छ। जसमा कल्याणकारी कोषको पुँजी ८७ अर्ब ६० करोड ७४ लाख ९६ हजार पुगेको छ भने अन्य दायित्व तथा नियन्त्रणमा रहेका निकायहरूको कारोबार समेत समावेश गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कोषले २७ अर्ब ३८ करोड ३२ लाख ६२ हजार आम्दानी गरेको छ। यसमध्ये २४ अर्ब ३१ करोड ५५ लाख ५९ हजार खर्च भई ३ अर्ब ६ करोड ७७ लाख ३ हजार बचत भएको छ। अघिल्लो वर्षको मौज्दात ८४ अर्ब ५३ करोड ९७ लाख ९३ हजार रहेकोमा समीक्षा वर्षको अन्त्यमा ८७ अर्ब ६० करोड ७४ लाख ९६ हजार पुगेको छ।
आम्दानीतर्फ शान्ति सेनाबाट प्राप्त शोधभर्ना, बैंक तथा लगानीबाट प्राप्त ब्याज, शान्ति पर्यवेक्षक योगदान, शैक्षिक शुल्क, आयमूलक कार्यक्रम, औषधि उपचार, आवास सेवा शुल्क लगायतका स्रोत प्रमुख रहेका छन्। खर्चतर्फ शान्ति सेना सञ्चालन, स्वास्थ्य, शिक्षा, छात्रवृत्ति तथा पुरस्कार, सीप तथा स्वरोजगार, सहुलियत सेवा र अन्य कल्याणकारी कार्यक्रम प्रमुख रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे