
काठमाडौँ । फिफा विश्वकप २०२६ को आठौँ खेलदिवसमा रोमाञ्चक नतिजाहरू देखिएका छन्। मेक्सिकोले दक्षिण कोरियालाई पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ भने क्यानडाले कतारमाथि फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो पहिलो विजय हासिल गरेको छ। यस्तै स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जेगोभिनामाथि प्रभावशाली जित निकालेको छ भने चेकिया र दक्षिण अफ्रिकाबीच अंक बाँडफाँट भएको छ।
समूह ‘ए’ अन्तर्गत भएको प्रतिस्पर्धामा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्यो। दोस्रो हाफको सुरुआतमै गोलकिपरको त्रुटिको फाइदा उठाउँदै लुइस रोमोले निर्णायक गोल गरेका थिए। लगातार दोस्रो जितसँगै मेक्सिकोले समूह चरण पार गर्ने पहिलो टोलीको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
भ्यानकुभरमा सम्पन्न अर्को खेलमा घरेलु समर्थकको उत्साहबीच क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले हरायो। खेलमा कतार नौ खेलाडीमा सीमित हुँदा क्यानडाले पूर्ण नियन्त्रण कायम गरेको थियो। जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दा साइल लारिन, नाथन सालिबा तथा एक आत्मघाती गोलमार्फत क्यानडाले सहज जित निकालेको हो। यद्यपि खेलका क्रममा क्यानडाका इस्माएल कोने गम्भीर चोटका कारण स्ट्रेचरमार्फत मैदान बाहिरिएका थिए।
समूह चरणकै अर्को खेलमा स्विट्जरल्यान्डले अन्तिम समयमा आक्रामक प्रदर्शन गर्दै बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्यो। युवा खेलाडी जोहान मान्जाम्बीले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे। रुबेन भार्गास र ग्रानिट झाकाले थप गोल गर्दा स्विस टोलीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
यसैबीच चेकिया र दक्षिण अफ्रिकाबीचको खेल १–१ को बराबरीमा टुंगियो। खेलको सुरुआतमै अग्रता लिएको चेकियाले त्यसलाई जोगाउन नसक्दा दोस्रो हाफमा दक्षिण अफ्रिकाले पुनरागमन गरेको थियो। पेनाल्टीमार्फत टेबोहो मोकोएनाले गोल गर्दै दक्षिण अफ्रिकालाई महत्वपूर्ण एक अंक दिलाए। बराबरीपछि दुवै टोलीको नकआउट चरणको सम्भावना अन्तिम खेलसम्म कायम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे