
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत शाखा कार्यालय नख्खुमार्फत नागार्जुन नगरपालिका–स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले एक कार्यक्रमबीच बाल गृहकी प्रतिनिधि सृजना नेपालीलाई उक्त वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो। बाल गृहमा आश्रित बालबालिकाहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस सहयोगले बाल गृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनलाई थप सहज बनाउनाका साथै उनीहरूको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा हेल्पिङ ह्यान्डस बाल गृहकी सृजना नेपालीले संस्थाका बालबालिकाहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको सहयोगप्रति बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक सहयोगले बाल गृहका सेवा तथा गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, हेल्पिङ ह्यान्डस बाल गृहका बालबालिका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे