
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले लगातार सार्वजनिक बिदाका बीच पनि स्वास्थ्य सेवा निरन्तर राख्ने उद्देश्यले देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार वैशाख १८, १९ र २० गते तीन दिनसम्म परेको सार्वजनिक बिदाका कारण अस्पतालमा सेवा प्रवाह प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिरामी तथा सेवाग्राहीलाई उपचारमा कुनै अवरोध नआओस् भन्ने लक्ष्यसहित सम्बन्धित अस्पतालहरूलाई नियमित रूपमा बहिरङ्ग सेवा सञ्चालन गर्न भनिएको हो। उनका अनुसार बिदाको समयमा पनि अत्यावश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न यस प्रकारको व्यवस्था लागू गरिएको हो।
मन्त्रालयले सबै सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन, औषधि तथा उपकरण तयारी अवस्थामा राखी सेवा प्रभावकारी बनाउन समेत निर्देशन दिएको जनाएको छ। साथै सेवाग्राहीलाई सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासनलाई विशेष जिम्मेवारीका साथ काम गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे