
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने योजना बनाएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षालाई अझ आधुनिक र प्रभावकारी बनाउन बजेट छुट्याइएको जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार विद्यालयमा डिजिटल शिक्षा विस्तार गर्न स्मार्ट बोर्ड जडान गरिनेछ। साथै साना कक्षाका विद्यार्थीहरूको सिकाइ क्षमता सुधार गर्न र शिक्षक तथा शिक्षा क्षेत्रको क्षमता विकासका लागि पनि बजेट व्यवस्था गरिएको छ। उनले आगामी वर्षका लागि विद्यालय पूर्वाधार निर्माण र सुधारमा १० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको बताए।
उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन पैसा मात्रै पर्याप्त नहुने उल्लेख गर्दै राम्रो योजना, व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए। सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे