
काठमाडौँ । डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोर ले सगरमाथा आधार शिविर मा अमेरिकी कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि स्कट चार्जसमेत सहभागी रहेका थिए।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दूत गोरले उक्त ड्रोन अमेरिकी प्रविधिको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै नेपालसँगको सहकार्यले हिमाली क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस प्रविधिले विशेषगरी उद्धार, ढुवानी तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
उनले सगरमाथा क्षेत्रको सरसफाइमा सहयोग पुर्याउने, आपतकालीन अवस्थामा आवश्यक सामग्री, अक्सिजन सिलिण्डर तथा उद्धारका उपकरण पुर्याउन सक्ने क्षमताका कारण यस ड्रोनको उपयोगिता उच्च रहेको बताए। उक्त ड्रोनले करिब पाँच किलोग्रामसम्मको भार बोक्न सक्ने क्षमता राख्ने जनाइएको छ।
यसअघि नेपालमा निजी क्षेत्रमार्फत उच्च भार क्षमता भएका ड्रोन प्रयोगको सुरुआत भइसकेको भए पनि यसपटक प्रस्तुत गरिएको प्रविधिलाई अमेरिकी नवप्रवर्तन र नेपालबीचको सहकार्यको नयाँ उदाहरणका रूपमा लिइएको छ।
यद्यपि ड्रोनको औपचारिक उद्घाटन भइसके पनि आवश्यक अनुमति प्रक्रिया पूरा नभएकाले हालसम्म परीक्षण उडान सुरु हुन सकेको छैन। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र यसको पूर्ण सञ्चालन गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे