
काठमाडौँ , ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिइरहेको अनुदान रोक्ने कारण सार्वजनिक गरेका छन्। उनले यस अनुदानलाई ‘ठगी’ भनेर खारिज गर्दै सहयोग रोकिएको बताएका छन्। २० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकी राष्ट्रपति पद सम्हाल्ने ट्रम्पले वैदेशिक अनुदान स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यस आदेशअनुसार, नेपाललाई दिने ३९ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) का अनुदान रोकिएको छ। यसमा वित्तीय संघीयता र जैविक विविधता संरक्षणका लागि २० मिलियन डलर र १९ मिलियन डलर समावेश छन्।
ट्रम्पले फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा भने, “यो फ्रड हो,” र उनले नेपालसहित भारत, मालदिभ्स, लाइबेरिया, माली, र दक्षिण अफ्रिकालाई दिइने सहयोग पनि रोकिएको जानकारी दिए।
ट्रम्पले भारतलाई निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिने निर्णय पनि पुनर्विचार गरेको उल्लेख गर्दै भने, “भारतसँग राम्रो सम्बन्ध छ, तर उससँग धेरै पैसा छ, त्यसैले अब हामी किन पैसा दिने?” यसरी, ट्रम्पले विभिन्न देशहरूको लागि अमेरिकाको आर्थिक सहायता समालेर रोक्ने निर्णय लिएका छन्। यसअघि, एलन मस्कको नेतृत्वमा रहेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले नेपालमा सञ्चालित केही अमेरिकी परियोजना रद्द गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे