
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनका लागि अनुमति प्रदान गरेको छ। अनुमति प्राप्त कम्पनीहरूले कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर जारी गर्न पाउने स्वीकृति पाएका छन्। उक्त सेयरको कुल अंकित मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रहेको बोर्डले जनाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार आईपीओ अनुमति प्राप्त कम्पनीमध्ये जलविद्युत् क्षेत्रको हिस्सा सबैभन्दा बढी रहेको छ। कुल २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनासम्बन्धी कम्पनी रहेका छन्। यसले नेपालको पूँजी बजारमा ऊर्जा क्षेत्रको प्रभाव निरन्तर बढ्दै गएको संकेत गर्दछ।
नेपालको दोस्रो बजार सञ्चालन गर्ने नेपाल स्टक एक्सचेञ्जमा हालसम्म १०३ वटा जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेको छ। जलविद्युत् क्षेत्रको उच्च उपस्थिति तथा सक्रिय कारोबारले यो क्षेत्रलाई सेयर बजारको प्रमुख आधार क्षेत्रका रूपमा स्थापित गरेको छ।
सेबोनका अनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका ७ वटा कम्पनीले आईपीओ अनुमति पाएका छन्। त्यस्तै विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका एक–एक कम्पनीले पनि स्वीकृति प्राप्त गरेका छन्। यसले पूँजी बजारमा विविध क्षेत्रको सहभागिता सीमित रहेको देखाउँछ।
यसैबीच, सेबोनमा आईपीओ निष्कासनका लागि कुल ९८ वटा कम्पनीले आवेदन दिएका छन्। तीमध्ये जलविद्युत् क्षेत्रका ३२, उत्पादन तथा प्रशोधनका २६, होटल तथा पर्यटनका १८, लगानी समूहका ५, माइक्रो इन्स्योरेन्सका ३ तथा अन्य समूहका १४ कम्पनी रहेका छन्।
विश्लेषकहरूका अनुसार जलविद्युत् कम्पनीहरूको उच्च उपस्थिति दीर्घकालीन ऊर्जा लगानीको परिणाम भए पनि पूँजी बजार अझै सीमित क्षेत्रमै केन्द्रित देखिन्छ। उत्पादन, सेवा तथा नवप्रवर्तनमूलक क्षेत्रको सहभागिता अपेक्षाकृत कम भएकाले बजारमा क्षेत्रीय सन्तुलन आवश्यक रहेको उनीहरूको धारणा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे