
काठमाडौं। देशभरका विभिन्न स्वास्थ्य संस्थामा करोडौँदेखि अर्बौँ रुपैयाँ मूल्यका स्वास्थ्य उपकरण तथा औषधि सामग्री प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। स्वास्थ्य क्षेत्रको उपकरण खरिद, व्यवस्थापन तथा उपयोगमा देखिएको कमजोरीका कारण सार्वजनिक लगानीको प्रभावकारी उपयोग हुन नसकेको देखिएको हो।
राष्ट्रिय ट्रमा सेन्टरमा करिब रु. ५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याल्याब मेसिन दक्ष जनशक्तिको अभावका कारण २०७२ सालदेखि प्रयोगविहीन रहेको छ। त्यस्तै करिब रु. २४ करोड ७७ लाख ९ हजार मूल्यका सीटी स्क्यान प्रणाली, भेन्टिलेटर, सी–आर्म मेसिनलगायतका उपकरण पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको अवस्था देखिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रु. ७२ लाख ६० हजार मूल्यका ल्याब उपकरण, गजेन्द्र नारायण सिंह अस्पतालमा करिब रु. ४ करोड ९० लाख ९५ हजार मूल्यका एक्स–रे मेसिन, ल्याप्रोस्कोपी सिस्टम तथा अन्य उपचार उपकरण प्रयोगविहीन रहेका छन्। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिमा ६० भन्दा बढी प्रकारका औद्योगिक तथा औषधि उत्पादन मेसिनहरू सञ्चालनमा आउन नसकेको देखिएको छ।
नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान र १.५ टेस्ला एमआरआई मेसिनसमेत उपयोगविहीन अवस्थामा रहेको उल्लेख छ। यस्ता महँगा उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति, मर्मत तथा व्यवस्थापन अभाव प्रमुख कारणका रूपमा देखिएको छ।
स्वास्थ्य सेवा विभागले पछिल्लो वर्षमा मात्र हाइट बोर्ड तथा इलेक्ट्रोनिक नेप स्केल खरिदमा करोडौँ खर्च गरे पनि अघिल्ला वर्षमा खरिद गरिएका हजारौँ उपकरण अझै प्रयोगमा नआएको पाइएको छ। करिब रु. ६ करोडभन्दा बढी मूल्यका इलेक्ट्रोनिक स्केल तथा अन्य उपकरण पनि थन्किएको अवस्थामा रहेका छन्।
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा टेलिभेरापी मेसिन लामो समयदेखि प्रयोगविहीन रहेको छ। रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको भए पनि सुरक्षित व्यवस्थापन नहुँदा थप जोखिम कायम रहेको देखिएको छ।
औषधि व्यवस्थापनतर्फ पनि गम्भीर समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, राष्ट्रिय चिकित्सा प्रतिष्ठान, क्यान्सर अस्पताल तथा अन्य संस्थामा करिब रु. ९ करोडभन्दा बढी मूल्यका औषधि तथा किट म्याद सकिएर प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका छन्।
यसैबीच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी तथा अन्य गम्भीर रोगका ५३ हजारभन्दा बढी बिरामीको उपचारका लागि करिब रु. ४ अर्ब ५९ करोडभन्दा बढी शोधभर्ना गरिएको छ। यस्ता कार्यक्रमलाई स्वास्थ्य बीमा प्रणालीसँग एकीकृत गर्दै एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
स्वास्थ्य क्षेत्रका उपकरण, औषधि तथा कार्यक्रम व्यवस्थापनमा देखिएको कमजोरीले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुन नसकेको स्पष्ट भएको छ। उपकरण सञ्चालन, जनशक्ति व्यवस्थापन, अनुगमन प्रणाली सुदृढीकरण तथा एकीकृत सेवा प्रणाली विकास गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे