
तौलिहवा । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटाको लाखौँ रुपैयाँ सरकारी रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अस्पतालको सेवा शुल्क तथा औषधि बिक्रीबाट संकलन भएको रकम नक्कली बैंक भौचर प्रयोग गरी हिनामिना गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अस्पतालको करिब ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघातमार्फत हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्पतालमा संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्दौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि कर्मचारीहरूको मिलेमतोमा नक्कली भौचर तयार गरी रकम गायब पारिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणका क्रममा फाइलमा रहेका १२९ थान बैंक भौचर र बैंक खातामा जम्मा भएको रकमबीच मेल नखाएपछि घटना सार्वजनिक भएको हो । त्यसपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलबासेले जाहेरी दिएपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरीले पक्राउ परेकामध्ये चूडामणि भट्टराई, अमित पाण्डेय, फार्मेसी सहायक रुक्सना खातुन तथा नेपाल बैंक लिमिटेड चन्दौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र कार्यालय सहयोगी विक्रम केसी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीले सरकारी अस्पतालको रकममा नक्कली बैंक भौचर प्रयोग गरेर संगठित रूपमा आर्थिक अनियमितता गरिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे