
काठमाण्डौ। २०८२ चैत महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको देखिएको छ। मूल्यवृद्धि औसतमा नियन्त्रणमा देखिए पनि उपभोक्ता स्तरमा यसको प्रभाव भने कायम रहेको विश्लेषण गरिएको छ।
समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु. ३४९४ अर्ब ७३ करोड पुगेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड बराबर रहेको छ। यो सञ्चिति करिब १८.४ महिनासम्म वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख गरिएको छ।
चालु खाता रु. ६१८ अर्ब ६८ करोडले बचतमा रहेको छ भने शोधनान्तर स्थिति रु. ७३१ अर्ब १६ करोडले बचतमा रहेको छ। यसले बाह्य क्षेत्रको अवस्था तुलनात्मक रूपमा मजबुत देखाएको छ।
रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३१.९ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म रेमिट्यान्स आप्रवाह रु. २०९ अर्ब ७५ करोड पुगेको छ।
निर्यात १८.५ प्रतिशतले वृद्धि भएको छ भने आयातको प्रवृत्तिमा समेत सुधार देखिएको छ। व्यापार सन्तुलनमा केही सकारात्मक संकेत देखिए पनि संरचनात्मक चुनौती कायमै छन्।
सरकारी खर्च रु. १०५९ अर्ब ९५ करोड र राजस्व परिचालन रु. ८८६ अर्ब २८ करोड रहेको छ। राजस्व वृद्धिभन्दा खर्च उच्च देखिएकाले वित्तीय दबाब कायम रहेको संकेत मिलेको छ।
विस्तृत मुद्रा प्रदाय ८.१ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक आधारमा १४.५ प्रतिशतले विस्तार भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.५ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर २.६१ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर २.४० प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७७ प्रतिशत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे