
काठमाडौँ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ (८) अनुसार सार्वजनिक लेखा समितिले प्रतिनिधि सभामा पेस गरिएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजुहरूको जाँच गरी सम्बन्धित निकायका काम–कारबाही कानुनसम्मत र औचित्यपूर्ण भए–नभएको अध्ययन गर्ने तथा आवश्यक निर्देशन दिने व्यवस्था रहेको छ।
महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ जेठ १३ गते राष्ट्रपतिसमक्ष पेस भई २०८१ माघ २७ गते प्रतिनिधि सभामा प्रस्तुत गरिएको थियो। त्यस्तै ६२ औं वार्षिक प्रतिवेदन २०८२ वैशाख ३१ गते राष्ट्रपतिसमक्ष पेस भई २०८२ असार २३ गते प्रतिनिधि सभामा प्रस्तुत भए पनि दुवै प्रतिवेदनमाथि विस्तृत छलफल अझै सुरु हुन सकेको छैन।
सचिवालयबाट प्राप्त विवरणअनुसार ६० औं वार्षिक प्रतिवेदनमाथि छलफलका लागि २०८१ साउन १ गते नौ वटा उपसमिति गठन गरिएको थियो। ती उपसमितिहरूले हालसम्म २५ वटा बैठकमार्फत छलफल गरेका छन्। यद्यपि समग्र प्रतिवेदनको पूर्ण अध्ययन र निष्कर्ष अझै तयार हुन सकेको छैन।
महालेखापरीक्षकको ४७ औंदेखि ६० औं वार्षिक प्रतिवेदनसम्मको अध्ययन र निर्णय प्रक्रियाको समीक्षा गर्दा ३९ वटा निकायका प्रतिवेदन पूर्ण रूपमा छलफल नभएको पाइएको छ। अर्थ मन्त्रालयअन्तर्गत ४९ औं प्रतिवेदनको २ बुँदा, ५० औं प्रतिवेदनको १ बुँदा, ५१ औं प्रतिवेदनको १ बुँदा र ५२ औं प्रतिवेदनको ४ बुँदामाथि मात्र छलफल सम्पन्न भएको देखिन्छ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ५६ औं प्रतिवेदनका बुँदा नं. २२ देखि ४४ सम्म, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ५५ औं प्रतिवेदनको बुँदा नं. ६ सम्म तथा ५८ औं प्रतिवेदनको बुँदा नं. १६ सम्म मात्र छलफल भएको छ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत ५८ औं प्रतिवेदनको बुँदा नं. १२ सम्म छलफल सम्पन्न भएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ५७ औं प्रतिवेदनका दफा नं. ९५–११८, १२७–१३३ र १४८–१५३ सम्मका बुँदाहरू अझै छलफलको प्रतीक्षामा रहेको देखिन्छ। यसले संसदीय निगरानी तथा बेरुजु व्यवस्थापन प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
प्रतिनिधि सभा नियमावली, २०५९ को नियम १८९ अनुसार संसदका समितिहरूले बैठकमा पेस गरेका प्रतिवेदन तथा निर्णयहरू सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको छ। साथै, समितिहरूले आफ्नो वार्षिक प्रतिवेदन कार्यान्वयन भए–नभएको सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक परेमा त्यसको प्रतिवेदन पुनः बैठकमा पेस गर्न सक्ने प्रावधान समेत रहेको छ।
संघीय संसदअन्तर्गतका विभिन्न समितिहरूले समय–समयमा बैठक बसी गरेका निर्णयहरू तथा तिनै निर्णय समेटिएका वार्षिक प्रतिवेदनहरू कार्यान्वयनका लागि सरकारसमक्ष पठाउने अभ्यास गर्दै आएका छन्। तर, ती निर्देशनहरूको कार्यान्वयन अवस्था प्रभावकारी नरहेको संसदीय प्रतिवेदनहरूमा उल्लेख गरिएको छ।
समितिहरूले दिएका अधिकांश निर्देशनहरू कार्यान्वयनमा नआएको तथ्य विभिन्न वार्षिक प्रतिवेदन तथा अनुगमन दस्तावेजहरूमा उल्लेख गरिएको छ। यसले संसदीय निगरानी प्रणाली र सरकारबीचको समन्वय तथा जवाफदेहितामाथि प्रश्न उठाएको छ।
विश्लेषकहरूका अनुसार संसदीय समितिहरूले दिएका निर्देशनहरू कागजमै सीमित हुने प्रवृत्तिले नीति कार्यान्वयनमा ढिलाइ मात्र नभई सुशासनको प्रभावकारितामा समेत असर पारेको छ। नियमित अनुगमन र कार्यान्वयन सुनिश्चित गर्ने संयन्त्र कमजोर हुँदा समितिहरूको निर्णयात्मक भूमिकामाथि चुनौती थपिएको उनीहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे