
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अझै पूर्ण रूपमा सुचारु हुन नसकेको जनाएको छ । विभागले देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र इकाइहरूलाई पत्राचार गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्या समाधानको कार्य जारी रहेको जानकारी दिएको हो ।
विभागका अनुसार वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि नयाँ दर्ता प्रक्रियाबाट प्राप्त हुने राष्ट्रिय परिचय नम्बर प्रमाणीकरण सेवा प्रभावित भएको छ । प्रणाली मर्मत कार्य जारी रहेकाले हालसम्म सेवा नियमित रूपमा सञ्चालनमा आउन नसकेको विभागले जनाएको छ ।
यसअघि विभागले वैशाख २३ गते सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी गराएको थियो । तर प्राविधिक समस्या पूर्ण रूपमा समाधान नभएकाले सेवा पुनः सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवा सुचारु हुनेबित्तिकै अर्को सूचना जारी गरेर जानकारी गराइने जनाएको छ । विभागले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक समन्वय र मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको उल्लेख गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे