
काठमाडौं। विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सम्पन्न गरेको छ। जुन ६, २०२६ मा सम्पन्न उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेशनको सहकार्यमा सञ्चालन गरिएको हो।
काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको उक्त क्षेत्रमा मेटलाइफ नेपालका करिब ५० जना स्वयंसेवकहरूले राजमार्ग र शंखरापुर सडक करिडोर आसपास ५०० वटा फलफूल तथा स्थानीय प्रजातिका बिरुवाहरू रोपेका थिए। टिमुर, ओखर र आरु लगायतका बिरुवाहरू छनोट गरी रोपिएको यस अभियानले परम्परागत एकल बाली प्रणालीबाट दिगो कृषि–वन प्रणालीतर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
माटो कटान, बाढी र पहिरोको जोखिम रहेको उक्त पहाडी क्षेत्रमा जैविक विविधता संरक्षण, जमिनको स्थायित्व अभिवृद्धि तथा समुदायको दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो। रोपिएका बिरुवाको संरक्षण र दीर्घकालीन अनुगमनका लागि स्थानीय समुदायसँग समन्वय गर्दै फिल्ड इन्स्टिच्युटले निरन्तर सहकार्य गर्नेछ।
कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यस्तो पहलले वातावरणीय पुनस्र्थापना, जीविकोपार्जन सुधार तथा भावी पुस्ताका लागि दिगो वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
मेटलाइफ फाउन्डेसनले आर्थिक सशक्तिकरण, वित्तीय स्वास्थ्य र लचिलो समुदाय विकासलाई केन्द्रमा राख्दै विश्वभरका समुदायमा सहयोग गर्दै आएको छ। संस्थाले हालसम्म एक अर्ब डलरभन्दा बढी योगदान गरिसकेको उल्लेख गरिएको छ।
त्यसैगरी, आर्बर डे फाउन्डेसनले रुख रोपण र संरक्षणमार्फत विश्वव्यापी वातावरणीय चुनौती समाधानमा योगदान पुर्याउँदै आएको छ। संस्थाले हालसम्म करोडौँ रुख रोपेर दिगो वातावरण निर्माणमा भूमिका खेल्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे