
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनाको आर्थिक अवस्थाले नेपालको अर्थतन्त्रका अधिकांश प्रमुख सूचक सकारात्मक दिशामा अघि बढिरहेको देखाएको छ। वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ०४ प्रतिशत रहेको छ भने दश महिनाको औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ६६ प्रतिशतमा सीमित रहेको छ।
देशको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी मुद्रामा उक्त सञ्चिति २४ अर्ब १९ करोड बराबर रहेको छ। हालको सञ्चितिले करिब १९ दशमलव २ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ, जुन बाह्य क्षेत्रको सुदृढ अवस्थाको संकेत मानिएको छ।
चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा पुगेको छ। विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै नेपाली मुद्रामा ४१ दशमलव २ प्रतिशत र अमेरिकी मुद्रामा ३३ प्रतिशतले वृद्धि भएको छ। वैशाख महिनासम्म कुल विप्रेषण आप्रवाह २५७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
वैदेशिक व्यापारतर्फ निर्यात १४ दशमलव २ प्रतिशतले बढेको छ भने आयात १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि आयात बढे पनि विप्रेषण र अन्य स्रोतबाट आएको विदेशी मुद्राका कारण बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको देखिएको छ।
सरकारी वित्ततर्फ नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यस अवधिमा विस्तृत मुद्राप्रदाय ९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा यसको वृद्धिदर १५ दशमलव २ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ९ दशमलव ४ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ७ प्रतिशतले विस्तार भएको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १६ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव ७ प्रतिशत रहेको छ।
बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको संकेतस्वरूप बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २ दशमलव ७५ प्रतिशत कायम रहेको छ। ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २ दशमलव ६३ प्रतिशत रहेको छ भने वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३ दशमलव ३५ प्रतिशत तथा कर्जाको भारित औसत ब्याजदर ६ दशमलव ७३ प्रतिशत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे