
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ। भन्सार छली भएको आशंकामा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानअन्तर्गत ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट बुधबार राति उक्त संख्यामा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको हो। गाडीहरूको आयात तथा भन्सार प्रक्रियासम्बन्धी कागजातमाथि शंका उत्पन्न भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।
कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। विभिन्न स्थानमा एकैसाथ गरिएको निगरानी र चेकजाँचका क्रममा गाडीहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा विद्युतीय गाडी पनि नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।
घटनापछि कोरला नाकाबाट हुने सवारीसाधन आयात, भन्सार प्रक्रिया तथा राजस्व चुहावटसम्बन्धी विषय पुनः चर्चामा आएको छ। सम्बन्धित निकायहरूले नियन्त्रणमा लिइएका सवारीसाधनको कागजात, भन्सार भुक्तानी तथा आयात प्रक्रियाबारे विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे