
काठमाडौं । अस्पतालहरूमा सिजरिन विधिबाट हुने प्रसूतिको दर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेको मापदण्डभन्दा अझै उच्च रहेको देखिएको छ। यद्यपि पछिल्लो आर्थिक वर्षमा प्रसूति सेवा लिने महिलाको संख्या तथा सिजरिन दरमा केही कमी आएको तथ्यांकले देखाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार शल्यक्रिया अर्थात् सिजरिन विधिबाट प्रसूति गराउँदा मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने भए पनि यसको आदर्श दर १० देखि १५ प्रतिशतको बीचमा हुनुपर्ने उल्लेख गरिएको छ। आवश्यकता भन्दा बढी सिजरिन गर्दा आमा र नवजात शिशुमा अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी पनि संगठनले दिएको छ।
अस्पतालबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २० हजार ५१९ प्रसूति सेवा प्रदान गरिएको छ। तीमध्ये ९ हजार ५३८ अर्थात् ४६.४८ प्रतिशत सामान्य प्रसूति भएका छन् भने ८ हजार ५९१ प्रसूति लोअर सेग्मेन्ट सिजरियन सेक्सन (एलएससीएस) मार्फत गरिएको छ, जुन कुल प्रसूतिको ४१.८७ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल २२ हजार ८९७ प्रसूति सेवा प्रदान गरिएको थियो। तीमध्ये १० हजार १७० अर्थात् ४४.४२ प्रतिशत सिजरिनमार्फत भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कुल २४ हजार ६७२ प्रसूति सेवामध्ये ९ हजार ८२१ अर्थात् ३९.८० प्रतिशत सिजरिनमार्फत गरिएको थियो।
तथ्यांकले पछिल्लो वर्ष प्रसूति सेवा लिने महिलाको संख्या घट्नुका साथै सिजरिन प्रसूतिको दरमा पनि सामान्य कमी आएको देखाएको छ। तथापि सिजरिन दर अझै विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको आदर्श सीमाभन्दा निकै माथि रहेको तथ्यले प्रसूति सेवाको अभ्यास, चिकित्सकीय आवश्यकता र स्वास्थ्य संस्थाको सेवा प्रवृत्तिमाथि थप अध्ययन आवश्यक रहेको संकेत गरेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले सिजरिनलाई चिकित्सकीय आवश्यकता भएका अवस्थामा मात्र प्रयोग गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने तथा सुरक्षित मातृत्व सेवामा सामान्य प्रसूतिलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे