
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुगेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले तीनदिने भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण छलफल र सहमतिबारे जानकारी दिएका हुन्।
मन्त्री खनालका अनुसार भारत भ्रमणमा व्यापार, आर्थिक सहकार्य, यातायात तथा कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, सुरक्षा र सीमा व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल भएको थियो। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सरकार प्रतिबद्ध रहेको पनि बताए।
भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सुरु गर्ने सहमति भएको छ। साथै, भारतको सहयोगमा पुनर्निर्माण गरिएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा नेपाललाई हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए।
शिक्षा क्षेत्रमा काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच भाषान्तरण प्रविधि विकासका लागि सम्झौता भएको छ। सीमा व्यवस्थापनका विषयमा दुवै देशले सीमा स्तम्भको मर्मत, हराएका स्तम्भ पुनःस्थापना तथा सीमाक्षेत्रका समस्या समाधानका लागि सहकार्य बढाउने सहमति गरेका छन्। साथै, मनसुनका बेला हुन सक्ने बाढी तथा विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको मन्त्री खनालले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे