
काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका १० सदस्यको मृत्यु भएको थियो। यो घटना नेपालको इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटनामध्ये एक मानिन्छ।
घटनाका बेला राजपरिवार नारायणहिटी दरबारमा पारिवारिक भेटघाटमा थिए। त्यही बेला भएको गोलीकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायतका सदस्यहरूको मृत्यु भयो। केही सदस्य घाइते पनि भएका थिए।
सरकारी छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको निष्कर्ष निकालेको थियो। तर यो प्रतिवेदनमाथि पर्याप्त अनुसन्धान नभएको र सबै तथ्य सार्वजनिक नगरिएको भन्दै धेरैले प्रश्न उठाउँदै आएका छन्। २५ वर्ष बितिसक्दा पनि घटनाबारे स्पष्ट र अन्तिम सत्य बाहिर आउन सकेको छैन।
यो घटनापछि नेपालको राजनीति ठूलो परिवर्तनतर्फ अघि बढ्यो। राजसंस्थाप्रतिको विश्वास कमजोर हुँदै गयो र अन्ततः २०६५ सालमा नेपाल गणतन्त्रमा प्रवेश गर्यो।
हाल नारायणहिटी दरबार संग्रहालयका रूपमा सञ्चालनमा छ, जहाँ पर्यटकहरू पुग्छन्। तर त्यो रात के भयो भन्ने प्रश्न अझै पनि अनुत्तरित छ र घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग आज पनि जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे