
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित असेंट समिटमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले विशेष सम्बोधन गरेकी छन्। सगरमाथा, पर्वतारोहण र नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रमलाई सराहनीय पहलका रूपमा लिइएको छ।
सभापतिले आफ्नो सम्बोधनमा सगरमाथा क्षेत्रलाई प्राकृतिक सम्पदा मात्र नभई राष्ट्रिय गौरव, आर्थिक अवसर र विश्वसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार उक्त समिटले पर्वतारोहण समुदायका उपलब्धिहरूलाई उजागर गर्नुका साथै दिगो पर्यटन, साहसिक यात्रा र नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ प्रवर्द्धनमा महत्वपूर्ण छलफलको अवसर प्रदान गरेको छ।

कार्यक्रमका क्रममा उनले अमेरिकी विदेश मन्त्रालयकी पब्लिक डिप्लोमेसी सम्बन्धी सचिवसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका विविध पक्षमा विचार आदान–प्रदान गरेकी थिइन्।
सभापतिले अमेरिकी दूतावास नेपाललाई यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरी पर्वतारोही, विज्ञ, नीति निर्माता तथा सरोकारवालालाई एउटै मञ्चमा ल्याएकोमा धन्यवाद व्यक्त गरेकी छन्।
समिटले नेपाललाई विश्व पर्वतीय पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने र सगरमाथा–केन्द्रित ब्रान्ड नेपाललाई अझ सुदृढ बनाउने दिशामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे