
काठमाडौँ, २५ श्रावण । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि चीन पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीनको साङदोङ प्रान्तको छङ्दाओ शहर गएका हुन्। हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा भ्रमण टोली चीन प्रस्थान गरेको हो।
परराष्ट्रमन्त्री खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाण्डौ–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ ।
यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ ।
चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन्।
त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशल किशोर रायसमेत भ्रमण टोलीमा रहेका छन्।
त्यस्तै गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्र मन्त्रालयकी उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसी प्रसाद कोइराला भ्रमण टोलीमा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे