
काठमाडौँ – फुटबल विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको २३औँ संस्करण आज रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। यो संस्करण अहिलेसम्मकै ठूलो र ऐतिहासिक मानिएको छ। करिब एक सय वर्ष लामो इतिहासमा पहिलो पटक तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा यसको आयोजना गर्दैछन्।
नेपाली समयअनुसार राति १२ः४५ बजे मेक्सिकोको ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुँदै छ। यसपटक कीर्तिमानी ४८ राष्ट्रले सहभागिता जनाउँदैछन्, जुन अघिल्लो संस्करणभन्दा १६ टोली बढी हो। प्रतियोगितामा जम्मा १०४ खेल हुनेछन्, जसमध्ये समूह चरणमा ७२ खेल र नकआउट चरणमा ३२ खेल रहनेछन्।
फिफाले यसपटकको पुरस्कार राशि अभूतपूर्व बनाएको छ। कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार राशि रहेको छ, जसमध्ये विजेताले ५ करोड डलर प्राप्त गर्नेछन्। यो रकम अघिल्लो विश्वकपको तुलनामा करिब ५० प्रतिशतले बढी हो। उपविजेताले ३ करोड ३० लाख, तेस्रो स्थानले २ करोड ९० लाख र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछन्। समूह चरणमै बाहिरिने टोलीले समेत ९० लाख डलर प्राप्त गर्नेछन्, र प्रत्येक सहभागी राष्ट्रलाई तयारी खर्चबापत थप १५ लाख डलर दिइनेछ।
यस संस्करणमा नयाँ प्रारूप लागू गरिएको छ। ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा ४–४ टोली रहनेछन्। प्रत्येक समूहको शीर्ष दुई टोली सीधा राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन्, भने तेस्रो हुनेमध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन्। यसअघि विश्वकपको फाइनल पुग्न सात खेल खेल्नुपथ्र्यो, तर यसपटक फाइनलिस्ट टोलीले आठ खेल खेल्नुपर्नेछ।
चार नयाँ राष्ट्रले पहिलो पटक विश्वकपमा डेब्यु गर्दैछन्। ती हुन्ः उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओ। करिब डेढ लाख जनसङ्ख्या भएको कुराकाओ विश्वकप छनोट हुने सबैभन्दा सानो राष्ट्र हो। यसैगरी, सबैभन्दा वयोवृद्ध खेलाडी स्कटल्याण्डका गोलरक्षक क्रेग गोर्डन हुन्, जसको उमेर ४३ वर्ष १६२ दिन छ भने सबैभन्दा कान्छा खेलाडी मेक्सिकाका १७ वर्षीय गिल्बर्टो मोरा हुन्।
पूर्वविजेताहरूमध्ये ब्राजिल सर्वाधिक पाँच पटकको विजेता हो। इटली र जर्मनीले चार–चार पटक, अर्जेन्टिनाले तीन पटक, उरुग्वे र फ्रान्सले दुई–दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक–एक पटक उपाधि जितेका छन्। साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, स्पेन, इङ्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सलाई यसपटकको बलियो दाबेदारका रूपमा हेरिएको छ।
यस पटकको अर्को विशेषता छुट्टाछुट्टै उद्घाटन समारोह हुनु हो। मेक्सिकोमा ११ जुन, अमेरिकाको लस एन्जलसमा १२ जुन र क्यानडाको टोरन्टोमा १२ जुन नै उद्घाटन कार्यक्रम हुनेछ। फाइनल खेल १९ जुलाईमा न्युयोर्क–न्युजर्सीमा आयोजना हुनेछ, जहाँ सुपर बोल शैलीको हाफटाइम शोसमेत रहनेछ।
तीन दशकपछि उत्तर अमेरिका फर्किएको यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा भव्य र महँगो प्रतियोगिता हुने निश्चित देखिन्छ। अब हेर्न बाँकी छः कुन राष्ट्रले जुलाईको त्यो ऐतिहासिक साँझ ट्रफी उचाल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे