
काठमाडौं । एभरेष्ट बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, फ्ल्याट खरिद, घर मर्मत तथा जग्गा खरिद गर्न इच्छुक ग्राहकका लागि विशेष गृहकर्जा योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत घर वा फ्ल्याट खरिद, आवासीय भवन निर्माण, घरको मर्मत, विस्तार तथा आवास निर्माणका लागि जग्गा खरिद गर्न आवश्यकता आधारित कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकका अनुसार कर्जा लिन चाहने आवेदकको मासिक किस्ता (ईएमआई) निज तथा श्रीमान्/श्रीमती वा परिवारका अन्य सदस्यको कुल उपलब्ध मासिक आम्दानीको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ। उपलब्ध मासिक आम्दानी भन्नाले कुल आम्दानीबाट बैंक तथा वित्तीय संस्थाप्रति रहेका विद्यमान दायित्व कटाएर बाँकी रहेको रकमलाई जनाउँछ। कर्जा आवेदन दिने व्यक्तिको उमेर ६० वर्षभन्दा बढी हुन नहुने प्रावधान राखिएको छ।
एभरेष्ट बैंकले आवश्यकता अनुसार कर्जा सीमा निर्धारण गर्ने व्यवस्था गरेको छ। रु. ३ करोडसम्मको आवासीय गृहकर्जामा घर निर्माणका लागि न्यूनतम मार्जिन आवश्यक नपर्ने भए पनि जग्गा तथा विद्यमान भवनको लागतसमेत जोड्दा कुल मार्जिन कम्तीमा २५ प्रतिशत हुनुपर्नेछ। घर वा फ्ल्याट खरिद गर्दा बैंकले निर्धारण गरेको मूल्यको न्यूनतम २५ प्रतिशत तथा जग्गा खरिद गर्दा न्यूनतम ४० प्रतिशत मार्जिन आवश्यक पर्नेछ।
रु. ३ करोडभन्दा माथिको आवासीय गृहकर्जामा निर्माण, मर्मत, विस्तार वा नवीकरणका लागि प्रस्तावित लागतको कम्तीमा २५ प्रतिशत मार्जिन अनिवार्य हुनेछ। यस्तै घर वा फ्ल्याट खरिदमा बैंक मूल्यांकनको २५ प्रतिशत तथा जग्गा खरिदमा न्यूनतम ५० प्रतिशत मार्जिन व्यवस्था गरिएको छ। यी प्रावधानहरू नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागू हुने बैंकले जनाएको छ।
योजनाअन्तर्गत प्रतिस्पर्धी ब्याजदर र सेवा शुल्कमा कर्जा उपलब्ध गराइनेछ। कर्जाको भुक्तानी अवधि अधिकतम ३५ वर्ष वा संयुक्त ऋणीमध्ये कसैको उमेर ६५ वर्ष पुग्ने समयसम्म, जुन पहिले हुन्छ, त्यही अवधिसम्म कायम रहनेछ।
कर्जाको सुरक्षणका रूपमा कम्तीमा आठ फिट मोटरबाटोको पहुँच भएको सम्पत्ति धितो राख्नुपर्नेछ। फ्ल्याट वा अपार्टमेन्ट खरिदको अवस्थामा विकासकर्ता, ऋणी र बैंकबीच त्रिपक्षीय सम्झौता गरिने व्यवस्था गरिएको छ। साथै बैंकलाई स्वीकार्य व्यक्तिको व्यक्तिगत जमानीसमेत आवश्यक पर्नेछ।
बैंकले धितो सम्पत्तिमा आफ्नो सर्तअनुसार व्यापक बीमा (कम्प्रिहेन्सिभ इन्स्योरेन्स) गराउनुपर्ने व्यवस्था गरेको छ। एभरेष्ट बैंकका अनुसार यस योजनाले ग्राहकलाई घर निर्माण तथा आवास स्वामित्वको लक्ष्य हासिल गर्न सहज वित्तीय पहुँच उपलब्ध गराउनेछ।
https://everestbankltd.com/…/retail-loans/home-loan/
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे