
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस का अवसरमा रामजी यादव ले श्रमिक हितसम्बन्धी तीन महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले भिडियो सन्देशमार्फत श्रमिकको सुरक्षा, अधिकार र आर्थिक सुदृढीकरण लक्षित पहलहरू अघि सारिएको जानकारी दिएका हुन्।
पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको मन्त्री यादवले बताए। यस कार्यक्रममार्फत श्रमिकको कार्यस्थल सुरक्षा, स्वास्थ्य र सुरक्षित वातावरणको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।
दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित दूतावासमार्फत हप्तामा एक पटक प्रत्यक्ष प्रसारण कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरिएको उल्लेख गरिएको छ। यसबाट श्रमिकले सहज रूपमा आफ्ना समस्या राख्न र सूचना प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
तेस्रो घोषणाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी खरिदका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराइने भएको छ। मन्त्री यादवका अनुसार ६ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुने तथा अधिकतम एक करोड पचास लाख रुपैयाँसम्म सापटी लिन सकिने व्यवस्था गरिएको छ।
मन्त्री यादवले श्रमको सम्मान नै राष्ट्र विकासको आधार भएको उल्लेख गर्दै सबै श्रमिकलाई उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले समाजका हरेक क्षेत्रका व्यक्तिलाई श्रमिककै रूपमा सम्मान गर्नुपर्ने धारणा राख्दै परस्पर सम्मान र कृतज्ञताको संस्कार सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे