
काठमाडौं । अखिल नेपाल सुकुम्वासी संघले वैकल्पिक बसोबासको सुनिश्चितता नगरी सुकुम्वासी तथा भूमिहीन बस्तीमा भइरहेको उठिबास कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राज्यका निकायहरूले बल प्रयोग गरी विभिन्न स्थानका बस्तीमा डोजर चलाउँदै नागरिकलाई विस्थापित गरिरहेको आरोप लगाएको हो। यस्तो कार्यले प्रभावित समुदायमा असुरक्षा र तनाव बढाएको संघको भनाइ छ।
संघले सरकारले पूर्वप्रतिबद्धता कार्यान्वयन नगरे चरणबद्ध आन्दोलनलाई कडा बनाउँदै देशव्यापी आमहड्तालसम्म जाने चेतावनी दिएको छ। पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग गरिएका सहमति कार्यान्वयन गराउन दबाब दिने र तत्काल विस्थापन रोक्न सम्बन्धित निकायसँग आग्रह गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।
त्यसैगरी दोस्रो चरणमा मेचीदेखि महाकालीसम्मका राजमार्ग अवरुद्ध गर्ने, सरकारविरुद्ध असन्तुष्टि जनाउँदै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने तथा नेतृत्वमाथि दबाब सिर्जना गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। संघले आन्दोलनलाई थप सशक्त बनाउँदै विभिन्न सुकुम्वासी बस्ती र मुख्य राजमार्ग केन्द्रित कार्यक्रम अघि बढाउने तयारी गरेको जनाएको छ।
संघका अध्यक्ष अमर परियारले वैकल्पिक व्यवस्था नगरी नागरिकलाई स्थानान्तरण गर्नु मानवीय दृष्टिले अस्वीकार्य भएको उल्लेख गर्दै प्रारम्भिक रूपमा संवादमार्फत समाधान खोजिने बताए। उनले माग सम्बोधन नभए क्रमशः आन्दोलनलाई विस्तार गर्दै अनिश्चितकालीन आमहड्तालसम्म जाने चेतावनी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे