
काठमाडौँ, २६ वैशाख — भारतले पाकिस्तानमाथि आफ्ना तीन सैन्य अड्डाहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण प्रयास गरेको आरोप लगाएको छ। भारतको भनाइ अनुसार जम्मु, उधमपुर (कश्मीर) र पठानकोट (पञ्जाब) मा रहेका अड्डाहरूमा आक्रमण रोकिएको हो। बिहीबार साँझ जम्मुमा विस्फोटको आवाज सुनेको र त्यही समयमा ब्ल्याकआउट भएको खबर आएको छ।
पाकिस्तानले भने यो आरोप अस्वीकार गरेको छ। रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीलाई भने, “हामीले केही गरेका छैनौं। आक्रमण गरेर अस्वीकार गर्ने हाम्रो नीति होइन।”
भारतले भने पाकिस्तानले हवाई आक्रमणको प्रयास गरेपछि आफ्नो सुरक्षाका लागि जवाफी कदम चालेको बताएको छ। बुधबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतले क्षेप्यास्त्र आक्रमण गरेको थियो।
यो घटनापछि संयुक्त राष्ट्रसंघ लगायत विश्व नेताहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। तनाव बढेसँगै आणविक हतियार भएका दुई मुलुकबीच ठूलो द्वन्द्वको डर बढेको छ।
भारतले हालै कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना भारतीय नागरिकको ज्यान गएपछि जवाफी कारबाहीमा ‘आतङ्ककारी पूर्वाधार’ मा प्रहार गरेको बताएको छ। पाकिस्तानले भने आतंकमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे