
काठमाडौँ, मङ्सिर २ । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुने जानकारी निर्वाचन आयोगले दिएको छ। आगामी मङ्सिर १६ गते हुने उपनिर्वचनको लागि ४४ रिक्त पदमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म, सम्बन्धित पालिका केन्द्र र वडा केन्द्रका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।
उम्मेदवारी दर्ता गरिने ४४ पदमध्ये पालिकाका प्रमुख र उपप्रमुखको १-१, अध्यक्षको २, उपाध्यक्षको ४, र वडाध्यक्षका ३४ पद छन्। साथै, कैलाली र ओखलढुङ्गामा दुई जिल्ला समन्वय समितिको प्रमुख पदमा पनि निर्वाचन हुनेछ।
मनोनयनपत्र दर्ता गर्दा, वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले १,५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ।
आयोगले मङ्सिर २ गतेदेखि उपनिर्वचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आचारसंहिता मङ्सिर १ गतेको आयोगको बैठकबाट निर्णय भएको हो र यसले उपनिर्वाचन हुने जिल्लामा नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका अधिकारी, संवैधानिक निकायका पदाधिकारी लगायतलाई प्रभाव पार्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे