
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई अझ विश्वासिलो र व्यवहारिक बनाउनुपर्ने बताएका छन्। भारतीय अखबार हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत उनले दुई देशबीचका सीमा विवादजस्ता विषयलाई लामो समयसम्म थाँती राख्न नहुने धारणा व्यक्त गरेका हुन्।
लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई केवल राजनीतिक र सीमा मुद्दामा सीमित नराखी आर्थिक विकास र साझेदारीमा केन्द्रित गर्नुपर्ने बताए। उनका अनुसार नेपालका लागि मुख्य प्राथमिकता आर्थिक रूपान्तरण भएकाले दुवै देशले विकासका क्षेत्रमा सहकार्य बढाउनुपर्छ।
उनले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणलाई तीव्रता दिने, पोखरा र लुम्बिनीबाट भारतका प्रमुख सहरमा सिधा हवाई उडान सञ्चालन गर्ने तथा डिजिटल प्रविधिमा सहकार्य विस्तार गर्ने प्रस्ताव गरेका छन्। नेपालमा उत्पादन हुने जलविद्युत् भारतका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उनको भनाइ छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, प्रविधि, डिजिटल भुक्तानी, कृषि र पर्यटन क्षेत्रमा पनि सहकार्य बढाउनुपर्ने उनले उल्लेख गरेका छन्। सीमा विवादलगायतका बाँकी विषयहरू ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्नुपर्नेमा जोड दिँदै उनले दुवै देशबीच विश्वास र सहकार्यको नयाँ वातावरण बनाउन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे