
काठमाडौँ, कात्तिक १३ । हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक, यामदीपदानको साथ, कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुँदैछ। आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, बिहान ११:०१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरसको पर्व मनाउनुपर्ने छ।
यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको ज्योतिषाचार्य एवम् वास्तुविद पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।
यमदीपदान भोलि (बुधबार)बाट सुरु हुनेछ। काग तिहार पनि कात्तिक १४ गते बुधबारको दिन परेको छ। यमदीपदान परिवारका सदस्यहरूको सङ्ख्याअनुसार गर्नुपर्ने र दक्षिण फर्काएर गर्नुपर्ने शास्त्रीय विधि रहेको छ।
कात्तिक १५ गते बिहीबार नरक स्नान गरेर कुकुर तिहार मनाइनेछ। लक्ष्मीपूजा पनि यसै दिन गर्नुपर्ने छ। कात्तिक १६ गते औँसी तिथि पर्ने भएकाले यस दिन तिहारका कुनै पर्व छैनन्।
कात्तिक १७ गते गाईगोरुपूजा र अन्य पूजा गरिनेछ। कात्तिक १८ गते भाइटीका लगाउने शुभ साइत दिउँसो ११:३७ बजे रहेको छ। यस दिन भाइपूजा पनि गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे