
काठमाडौं। काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता संरक्षण गर्ने उद्देश्यले आजदेखि साप्ताहिक रूपमा सवारीसाधन निषेध कार्यक्रम सुरु गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार कःमिलाछी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धबाट असनसम्मको क्षेत्र प्रत्येक शनिबार सवारीमुक्त रहनेछ। उक्त अवधिमा सो क्षेत्रमा कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।
महानगरले सहरी सम्पदाको संरक्षण, संवर्द्धन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ। यसले काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने, परम्परागत जीवनशैलीलाई निरन्तरता दिने तथा जात्रा, पर्व र संस्कार पुस्तान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय अत्यधिक सवारी चापका कारण भित्री सहरी क्षेत्रमा व्यवस्थापन चुनौती बढ्दै गएको र मौलिक सांस्कृतिक स्वरूपमा असर परेको भन्दै महानगरले यस्तो कदम चालेको हो।
कार्यक्रमअन्तर्गत प्रत्येक शनिबार असन क्षेत्रमा सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गरिनेछ। रैथाने ज्ञान, सीप, परम्परागत व्यापार, गायन, वादन तथा नृत्यजस्ता कार्यक्रममार्फत जीवित सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
सवारी व्यवस्थापनका लागि विभिन्न स्थानबाट असन प्रवेशमा प्रतिबन्ध लगाइएको छ। जमलतर्फ कःमिलाछी सिंहढोका, भोटाहिटी कलशढोका, वीर अस्पताल क्षेत्र, महाबौद्ध, इन्द्रचोक लगायतका स्थानबाट सवारी प्रवेश रोकिनेछ। मोटरसाइकलसमेत केही भित्री गल्लीहरूमा निषेध गरिनेछ भने वैकल्पिक मार्ग प्रयोग गर्न सवारीधनीलाई आग्रह गरिएको छ।
महानगरले शनिबार असन आउने आगन्तुकलाई धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल लगायत तोकिएका स्थानमा सवारी पार्क गरी पैदलमार्गबाट प्रवेश गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे