
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संगठनलाई आर्थिक रूपमा सुदृढ बनाउने उद्देश्यसहित मन्त्री, सांसद तथा स्वकीय सचिवहरूका लागि मासिक लेबी निर्धारण गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो।
पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार अब मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ तथा सांसदहरूले १६ हजार पाँच सय रुपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्नेछ। संगठन सञ्चालनलाई व्यवस्थित र आत्मनिर्भर बनाउने लक्ष्यसहित यस्तो व्यवस्था लागू गरिएको उनले बताए।
त्यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि पनि मासिक दुई हजार रुपैयाँ लेबी तोकिएको छ। आगामी दिनमा सांसदहरूका लागि स्वकीय सचिव राख्ने व्यवस्था कार्यान्वयनमा आएमा उनीहरूका स्वकीय सचिवहरूलाई पनि सोही दरअनुसार लेबी तिर्नुपर्ने प्रावधान रहने जनाइएको छ।
पार्टीले आन्तरिक स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउँदै संगठनलाई दीगो रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ यो नीति अघि सारेको जनाएको छ। यस कदमबाट पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे