
काठमाडौँ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन तथा प्रतियोगिता सञ्चालन गर्दा सम्बन्धित खेल संघसँग समन्वय गर्नुपर्ने व्यवस्था रहे पनि व्यवहारमा संघहरूको प्रत्यक्ष लागत साझेदारी नदेखिएको पाइएको छ।
नियमावलीको नियम २१ (१) मा खेल पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालनमा खेल संघको समन्वय अनिवार्य गरिएको छ। निर्माण भएका संरचनामा खेल प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा संघहरूको प्रत्यक्ष संलग्नता रहे पनि पूर्वाधार निर्माण तथा विकासमा उनीहरूको आर्थिक सहभागिता न्यून रहेको देखिन्छ।
यस क्रममा राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेल प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक वर्ष २०८०/८१ मा २७ खेल संघलाई २ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २६ खेल संघलाई २ करोड ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
तर, खेल पूर्वाधार प्रयोग गर्ने संघहरूले निर्माण तथा विकासमा कुनै लागत साझेदारी नगरेको र उनीहरूले सञ्चालन गरेका प्रतियोगिताको अभिलेखसमेत परिषद्सँग व्यवस्थित रूपमा नरहेको पाइएको छ। यसले पूर्वाधार उपयोग, अनुदानको प्रभावकारिता र प्रतियोगिता व्यवस्थापनमा पारदर्शिता सम्बन्धी प्रश्न उठाएको छ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले खेल पूर्वाधार निर्माण, विकास र उपयोग सम्बन्धमा खेल संघलाई स्पष्ट जिम्मेवारी तोक्ने तथा लागत साझेदारी सुनिश्चित गर्ने गरी निश्चित मापदण्ड तयार गर्नुपर्ने आवश्यकता देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे