
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कूटनीतिक संवाद गरेका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुँदै द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल गरेका हुन्।
वार्ताका क्रममा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, डिजिटल प्रविधि, वित्तीय सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप उन्नत बनाउने विषयमा व्यापक विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा समेत धारणा आदानप्रदान गरेका थिए।
बैठकमा नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल पूर्वाधार तथा वित्तीय प्रणालीमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक सहमति जुटेको छ। दुवै देशले बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउँदै नयाँ उचाइमा पुर्याउन प्रयास तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्यायिक सहकार्यलाई थप प्रभावकारी बनाउन कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तापछि भारतीय विदेशमन्त्री डा. जयशंकरले भारतको भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
यसैबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने उद्देश्यले भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) बीच ‘पियर–टु–पियर’ (P2P) आबद्धताको संयुक्त शुभारम्भ गरिएको छ। यस कदमले नेपाल र भारतबीच डिजिटल भुक्तानी तथा वित्तीय कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
डिजिटल सहकार्यलाई नयाँ आयाम दिने क्रममा भारतको ‘भाषिनी’ डिजिटल भाषा प्लेटफर्म र काठमाडौँ विश्वविद्यालयबीच राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यले भाषा प्रविधि र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहयोग तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले दुवै देशका जनताको आकांक्षाअनुसार साझेदारी विस्तार गर्ने विषयमा नयाँ ऊर्जा थपेको छ। साथै नेपाल र भारतबीचको नियमित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादको परम्परालाई समेत थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
भारतले आफ्नो ‘छिमेक पहिले’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदारका रूपमा राख्दै व्यापार, विकास साझेदारी, सम्पर्क सञ्जाल तथा जनस्तरीय सम्बन्ध विस्तारमा निरन्तर जोड दिँदै आएको छ। परराष्ट्रमन्त्री खनालको भ्रमणले यही सहकार्यलाई थप बलियो बनाउँदै आपसी विश्वास, समझदारी र साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे