
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभर जिल्ला अधिवेशनलाई अघि बढाएको छ। पार्टीका अनुसार हालसम्म ३८ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ। केही जिल्लामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरिएको छ भने अधिकांश जिल्लामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुंगो लगाइएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बागमती प्रदेशका नौ जिल्लामध्ये आठ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। सिन्धुपाल्चोकमा भने आइतबार निर्वाचनमार्फत नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेश प्रदेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ तथा सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन प्रक्रिया जारी छ। उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, तनहुँ, गोरखा, लमजुङ, रुपन्देही, प्युठान, सुर्खेत, दैलेख, जुम्ला, कैलाली, कञ्चनपुरलगायत जिल्लामा अधिवेशन हुने कार्यसूची रहेको आयोगले जनाएको छ।
यसअघि झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ। त्यसैगरी कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा समेत जिल्ला कार्यसमिति चयन गरिएको छ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि आयोजना गरिने पार्टीले जनाएको छ।
पार्टीको प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु हुने तय भएको छ भने प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुनेछ। महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे