
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबदेखि आफ्नो मुख्य राजनीतिक विचारधाराका रूपमा ‘सामाजिक लोकतन्त्र’ अपनाउने घोषणा गरेको छ। पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत यो नयाँ दिशा सार्वजनिक गर्नुभएको हो।
लामिछानेका अनुसार रास्वपा लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था र उत्तरदायी शासनको पक्षमा रहनेछ। उहाँले रास्वपालाई पुराना दलहरूको विकल्प मात्र नभई देशको नेतृत्व गर्ने मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
संविधान संशोधनको विषयमा पनि रास्वपाले नयाँ प्रस्ताव अघि सारेको छ। पार्टीले हालको संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएको भन्दै प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था हुनुपर्ने धारणा राखेको छ। साथै, निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउनुपर्ने र राष्ट्रिय सभालाई विशेषज्ञहरूको गैरदलीय सभा बनाउने प्रस्ताव पनि गरिएको छ।
परराष्ट्र नीतिमा रास्वपाले विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने बताएको छ। भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्दै नेपाललाई दुई देशबीचको ‘जीवन्त पुल’ बनाउने लक्ष्य राखिएको छ। विदेशमा रहेका नेपालीको ज्ञान, सीप र लगानीलाई देशको विकासमा उपयोग गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
आर्थिक नीतिमा पार्टी उदार अर्थतन्त्रको पक्षमा भए पनि शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएको छ। राज्यले व्यापार गर्नेभन्दा नियमन गर्ने भूमिका खेल्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति दोहोर्याउँदै रास्वपाले कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्न प्रतिबद्धता जनाएको छ। साथै, युवापुस्ताको ऊर्जा र असन्तोषलाई सकारात्मक राजनीतिक परिवर्तनको आधार बनाउने तथा पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद अन्त्य गरी संस्थागत विकासमा जोड दिने योजना सार्वजनिक गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे