
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आचारसंहिता नमान्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।
काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै सबै सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार भएर सामग्री प्रकाशन गर्न आग्रह गरेको छ। पछिल्लो समय केही व्यक्ति र मिडियाले पत्रकारिताको मर्यादा तोड्ने काम गरिरहेको काउन्सिलको भनाइ छ।
काउन्सिलका अनुसार केही अनलाइन पोर्टल दर्ता गरेर पनि समाचार लेख्ने काम नगरी युट्युब, फेसबुक र रीलमार्फत भ्युज र पैसा कमाउने उद्देश्यले गलत, झगडापूर्ण र अपमानजनक सामग्री फैलाइरहेका छन्।
त्यस्तै, कतिपयले पत्रकार परिचयपत्र बिना नै विभिन्न कार्यालय, विद्यालय र कार्यक्रममा प्रवेश गरेर अभद्र व्यवहार गर्ने, विवाद सिर्जना गर्ने र कहिलेकाहीँ हातपातका घटना समेत सामाजिक सञ्जालमा राख्ने गरेको उल्लेख गरिएको छ।
यस्ता गैरजिम्मेवार गतिविधिले पत्रकारिताको विश्वसनीयता र सम्मानमा नकारात्मक असर पारेको काउन्सिलले जनाएको छ। त्यसैले आचारसंहिता पालन गर्न सबैलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे