
काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेका हजारौं रोपनी जग्गाको संरक्षण, सीमाङ्कन तथा स्वामित्व व्यवस्थापन प्रभावकारी हुन नसकेको पाइएको छ। कानुनले ट्रष्टको अचल सम्पत्ति कुनै व्यक्ति वा संस्थापकको नाममा दर्ता गर्न नपाइने स्पष्ट व्यवस्था गरे पनि केही जग्गा मोही तथा तिनका हकवालाको नाममा नामसारी भएको देखिएको छ।
नेपाल ट्रष्ट ऐन, २०६४ अनुसार ट्रष्टको सम्पत्तिको समुचित व्यवस्थापन, सम्भार तथा संरक्षण गर्ने दायित्व ट्रष्टको रहेको छ। तर मन्त्रिपरिषद्को निर्णयअनुसार विगतमा ट्रष्टको नाममा दर्ता भएको काठमाडौंका मातातीर्थ, थानकोट, सतुङ्गल र इचङ्ग क्षेत्रमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही तथा तिनका हकवालाको नाममा नामसारी भएको पाइएको छ।
उक्त जग्गा कानुनी व्यवस्थाविपरीत अन्य व्यक्तिको नाममा दर्ता भए पनि ट्रष्टले आवश्यक छानबिन गरी आफ्नो स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया अघि नबढाएको देखिएको छ। त्यस्तै बालाजु, स्वयम्भू, शेषनारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गामा हालसम्म मोहीहरूले खेतीपाती गरिरहेका छन् भने केही स्थानमा निजी विद्यालयसमेत सञ्चालनमा रहेको पाइएको छ।
यसैबीच काठमाडौंको बालाजु क्षेत्र, धादिङको धुनीबेंसी, ललितपुरको गोदावरी तथा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाललगायत विभिन्न आठ स्थानमा रहेको १५ हजार ५०२ रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन, संरक्षण तथा व्यवस्थापनसम्बन्धी कार्य अझै सम्पन्न हुन सकेको छैन।
सम्पत्ति संरक्षणसम्बन्धी यिनै विषय पटक पटक औंल्याइएको भए पनि अवस्था यथावत् रहेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, सीमाङ्कन तथा स्वामित्व सुनिश्चितताका लागि नेपाल ट्रष्टले कानुनअनुसार आवश्यक कदम तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे