
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाँ र एक हजार रुपैयाँ दरका नोट छपाइका लागि भारतीय सेक्युरिटी प्रिन्टिङ एण्ड मिन्टिङ कम्पनीसँग गरेको दुईवटा ठूला सम्झौता रद्द गरेको छ । स्वीकृत नमूनाअनुसार नोटको गुणस्तर तथा प्राविधिक परीक्षण प्रतिवेदन नमिलेपछि राष्ट्र बैङ्कले क्रमशः २०८१ फागुन ४ र २०८१ माघ ५ गते सम्झौता अन्त्य गर्दै जमानत जफत गरेको हो ।
राष्ट्र बैङ्कले ५० रुपैयाँ दरका ३० करोड थान नोट छपाइका लागि २०७९ माघ १५ गते करिब ५० लाख ४९ हजार अमेरिकी डलर तथा एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइका लागि २०७९ पुस ७ गते करिब १ करोड ११ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । तर छापिएका नोटहरू स्वीकृत नमूना र प्राविधिक मापदण्डअनुसार नभेटिएपछि सम्झौता प्रक्रिया नै रद्द गर्नुपरेको देखिएको छ ।
सम्झौता रद्द भए पनि नोट छपाइसँग सम्बन्धित गोप्य सामग्री, उत्पादन नमूना तथा संवेदनशील डाटाको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको पाइएको छ । राष्ट्र बैङ्कले आपूर्तिकर्तासँग रहेका सामग्री फिर्ता, निरीक्षण तथा गोपनीयता सुनिश्चित गर्नुपर्नेमा सम्बन्धित पक्षलाई अनुरोधपत्र मात्र पठाएको उल्लेख गरिएको छ ।
विशेषगरी बैंक नोट मुद्रणमा प्रयोग हुने महत्त्वपूर्ण गोप्य डाटा राष्ट्र बैङ्कको प्रत्यक्ष भौतिक नियन्त्रणमा नरहेको अवस्थाले वित्तीय सुरक्षा र गोपनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । संवेदनशील सामग्री बाह्य पक्षको पहुँचमा रहँदा दुरुपयोग, नक्कली मुद्रा जोखिम तथा सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
यस विषयमा अघिल्लो वर्ष पनि सुधार गर्न सुझाव दिइएको भए पनि अवस्था यथावत् रहेको उल्लेख गरिएको छ । सम्बन्धित निकायले नोट मुद्रण प्रक्रिया, सुरक्षा प्रबन्ध, डाटा नियन्त्रण तथा आपूर्तिकर्ता व्यवस्थापनलाई थप कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे