२०८० आश्विन ११, बिहिबार
मुस्ताङ– जिल्लाबाट यसपालिको दसैं तिहारमा ३५ करोड रुपैयाँ मूल्यको च्यांग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्यांग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार च्यांग्रा निकासी भएको जानकारी दिए ।
‘स्वास्थ्य परीक्षण गरेर करिब १० हजार च्यांग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्यांग्रा बेचेका छन् ।’ तिब्बतबाट भेडाच्यांग्र्रा नआएपछि विगतको तुलनामा झण्डै आधा संख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।
अघिल्ला वर्षहरुमा २० देखि २५ हजार भेडाच्यांग्रा निकासी हुन्थ्यो । निकासी भएका अधिकांश भेडाच्यांग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगु जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्यांग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका हुन् ।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २ सय च्यांग्रा किनेका काठमाडौंका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताए ।
‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गरेका थियौं, यो वर्ष ३५ हजारसम्म परेको छ,’ उनले भने, ‘खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।’ मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्यांग्रा निकासी भएको हो ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्यांग्रा बजारमा ल्याएका थिए ।
उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विशेष गरी लेकाली जडीबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्यांग्राको माग बढी हुने गर्छ । च्यांग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्यांग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे