२०८० आश्विन १४, आईतबार
काठमाडौं । छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि ‘येल्लो अलर्ट’ लागू गरिएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तीब्र रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै येल्लो अलर्ट घोषणा गरेका हुन् ।
कोरोनाका बढ्दो केसहरूलाई ध्यानमा राख्दै कोरोना प्रतिबन्धहरू अझ कडा बनाइने बताउँदै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘साइन्टिफिक तवरले प्रतिबन्ध लगाउन सकयोस् भनेर हामीले जुलाईमा जीआरपी बनाएका थियौं । दिल्लीमा जीआरपी लागू गर्ने निर्णय गरेका छौं । येल्लो अलर्ट लागू हुनेछ । प्रतिबन्ध लगाइँदैछ ।’
उनले थप भनेका छन्, ‘विगत दुई दिनभन्दा बढी समयदेखि ०.५ प्रतिशत कोरोना पोजिटिभ दर रेकर्ड भइरहेको छ । हामी ग्रेडेड प्रतिक्रिया कार्य योजनाको लेभल–१ (पहेँलो अलर्ट) लागू गर्दैछौं । लागू हुने प्रतिबन्धहरूको विस्तृत आदेश छिट्टै जारी गरिनेछ ।’
यसका साथै मुख्यमन्त्री केजरीवालले कोरोनाबाट डराउनुपर्ने कुरा नभएको र अधिकांश मामिलामा हल्का लक्षण देखिएको बताए । कोरोनाको नयाँ संस्करण ओमिक्रोनका बिरामीहरूलाई आईसीयू, भेन्टिलेटर वा अक्सिजन बेडको आवश्यकता नपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘चिन्ता नगर्नुहोस् । यस पटक हामी कोरोना भाइरससँग लड्न १० गुणा बढी तयार छौं । बजार र मलमा मानिसहरूले मास्क नलगाएको भीडका तस्बिरहरू छन् । अब बजार भीडभाड छ, मास्क लगाएका छैनन् भन्ने तस्वीर आउनु हुँदैन । नत्र बजार बन्द गर्नुपर्ने र आर्थिक समस्या आउनेछ ।’
लगातार दुई दिनसम्म कोरोना संक्रमण दर ०.५ प्रतिशतभन्दा बढी रहँदा ‘पहेँलो’ अलर्ट जारी गरिन्छ । यसमा रात्रि कफ्र्यू लगाउने, स्कूल र कलेजहरू बन्द गर्ने, जोर–बिजोर आधारमा गैर–आवश्यक वस्तु पसलहरू खोल्ने, मेट्रो–ट्रेन र सार्वजनिक सवारीहरूमा यात्रुहरूको सिट क्षमता आधा गर्ने जस्ता उपायहरू समावेश छन् ।
दिल्लीमा के खुल्छ र के बन्द हुन्छ ?
मल र सपिङ कम्प्लेक्सका पसलहरू जोर–बिजोर अनुसार खुल्नेछन् ।
विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द रहनेछन् ।
पसलहरू बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्नेछन् ।
इलाकामा पसल खोल्न अनुमति दिइनेछ तर, कोभिड नियमहरू पालना गर्नुपर्नेछ ।
५० प्रतिशत क्षमतामा साप्ताहिक बजार स्थापना गरिनेछ ।
प्रत्येक महानगरपालिकामा साप्ताहिक बजार मात्रै चल्न दिइनेछ ।
५० प्रतिशत क्षमतामा रेस्टुरेन्ट सञ्चालन गर्न दिइनेछ । रेस्टुरेन्टहरू बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्नेछन् ।
५० प्रतिशत क्षमताका बारहरू दिनको १२ बजेदेखि राति १० बजेसम्म खुल्नेछन् ।
होटलहरू भोज र सम्मेलन हल बिना खोल्न अनुमति दिइनेछ ।
सभाहलहरु बन्द रहनेछन् ।
सिनेमा हल, थिएटर र मल्टिप्लेक्स बन्द रहनेछन् ।
मनोरञ्जन र वाटर पार्कहरू बन्द रहनेछन् ।
केन्द्रीय सरकारी कार्यालयहरू भारत सरकारको आदेश अनुसार खुल्नेछन् ।
५० प्रतिशत कर्मचारीलाई निजी कार्यालयमा बोलाउन दिइनेछ ।
अटो, ई–रिक्सा, ट्याक्सी र साइकल रिक्सामा २ जना मात्र यात्रुले यात्रा गर्न पाउनेछन् ।
राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न सकिने भएपनि खेलकुद परिसर, रंगशाला र पौडी पोखरी बन्द रहनेछन् ।
विवाह समारोह र अन्त्येष्टिमा २० जना मात्र सहभागी हुन दिइनेछ ।
सामाजिक, राजनीतिक, धार्मिक, चाडपर्व र मनोरञ्जन सम्बन्धी गतिविधिमा प्रतिबन्ध लगाइनेछ ।
धार्मिक स्थलहरु खुला रहनेछन् तर, भक्तजनहरुलाई प्रवेशमा रोक लगाइनेछ ।
राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यू लागू हुनेछ ।
दिल्ली मेट्रो ५० प्रतिशत सिट क्षमताको साथ चल्नेछ र उभिएर यात्रा गर्ने अनुमति दिइने छैन ।
एक राज्यबाट अर्को राज्य जाने बसहरू ५० प्रतिशत सिट क्षमतामा चल्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे