
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने तयारी सुरु भएको छ। उद्योग सञ्चालनका लागि अहिले उद्योग परिसर सफा गर्ने र विद्युत् जडान गर्ने काम भइरहेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका अनुसार उद्योगभित्र वर्षौँदेखि जमेको झारपात, फोहोर र अनावश्यक सामान हटाउने काम भइरहेको छ। साथै उद्योग चलाउन आवश्यक विद्युत् आपूर्तिको व्यवस्था मिलाउने काम पनि अघि बढाइएको छ।
यी प्रारम्भिक काम पूरा भएपछि उद्योगका भवन, मेसिन र अन्य उपकरणको अवस्था जाँच गरिनेछ। लामो समय बन्द रहेकाले मेसिन तथा संरचनाको अवस्था बुझ्न प्राविधिक टोलीले अध्ययन गर्ने तयारी गरेको छ।
सरकारले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति लिएपछि हेटौँडा कपडा उद्योगमा तयारी थालिएको हो। चीनको सहयोगमा स्थापना भएको यो उद्योगले विगतमा ठूलो संख्यामा रोजगारी दिएको थियो। विसं २०३५ देखि उत्पादन थालेको उद्योग २०५६ सालदेखि बन्द अवस्थामा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे