
काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा दक्ष एक्चुरी जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्याथेमेटिकल साइन्स (एसएमएस) बीच छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न साझेदारी गरिएको छ। नयाँ पहलमार्फत प्रत्येक वर्ष दुई जना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चार वर्षे अध्ययन अवधिभर पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
मेटलाइफ नेपालका अनुसार योग्यता आधारित यस छात्रवृत्ति कार्यक्रमले नेपालमा एक्चुरियल विज्ञान अध्ययनलाई प्रोत्साहन गर्दै बीमा तथा वित्तीय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। हाल नेपालमा एक्चुरियल विज्ञान बीमा तथा वित्तीय सेवा क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीको छनोट पारदर्शी मूल्यांकन प्रक्रियामार्फत गरिनेछ। छनोट भएका विद्यार्थीको चार वर्षे अध्ययन अवधिका प्रत्येक सेमेस्टरको सम्पूर्ण शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ। सरकारी विद्यालयसहित विभिन्न शैक्षिक पृष्ठभूमिबाट आएका प्रतिभाशाली विद्यार्थीले पनि समान अवसर पाउने व्यवस्था गरिएको छ।
आर्थिक सहयोगमा मात्र सीमित नरही यस सहकार्यले शैक्षिक संस्था र उद्योगबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। विद्यार्थीहरूले व्यावहारिक सिकाइ, इन्टर्नशिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसरसमेत प्राप्त गर्नेछन्, जसले उनीहरूलाई जोखिम व्यवस्थापन, बीमा विश्लेषण तथा वित्तीय क्षेत्रमा देखिने वास्तविक चुनौतीसँग काम गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
बीमा योजना निर्माण, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न एक्चुरीहरूको भूमिका महत्वपूर्ण मानिन्छ। तर नेपालमा यस्तो विशेषज्ञ जनशक्ति सीमित रहेकाले यस कार्यक्रमले भविष्यका दक्ष एक्चुरी तयार पार्दै देशको बीमा उद्योग र समग्र वित्तीय प्रणालीलाई सुदृढ बनाउन योगदान पुर्याउने मेटलाइफ नेपालको विश्वास छ।
साझेदारीबारे मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अवसरमा पहुँचले भविष्य निर्माण गर्ने विश्वास कम्पनीको रहेको उल्लेख गर्दै यस कार्यक्रममार्फत प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्नुका साथै नेपालको वित्तीय क्षेत्रका लागि आवश्यक एक्चुरियल विशेषज्ञता विकासमा योगदान दिने उद्देश्य रहेको बताए।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्याथेमेटिकल साइन्स (एसएमएस) का निर्देशक नवराज पौडेलले यस सहकार्यले गुणस्तरीय शिक्षा र उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको उद्देश्यलाई थप बलियो बनाउने बताए। उनका अनुसार छात्रवृत्ति कार्यक्रमले योग्य विद्यार्थीलाई आत्मविश्वासका साथ एक्चुरियल क्षेत्रमा करियर बनाउन प्रेरित गर्नेछ।
मेटलाइफ नेपाल अमेरिकास्थित मेटलाइफ इन्कको सहायक संस्था अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा सन् २००१ देखि नेपालमा सञ्चालनमा छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, सामूहिक बीमालगायत विभिन्न बीमा सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे