
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्ला दुई महिना (जेठ र असार)मा समस्याग्रस्त सहकारी संस्थाका एक हजार ७५४ जना बचतकर्तालाई करिब दुई करोड ५० लाख रुपैयाँ बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार असार १५ गतेसम्म समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये १० वटा सहकारीका बचतकर्ताले चक्रीय रूपमा आफ्नो बचत रकम फिर्ता पाएका हुन्। समितिले ती संस्थाबाट ऋण असुली गर्दै बचतकर्तालाई क्रमिक रूपमा रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको छ।
सरकारले सहकारी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिन चक्रीय कोष स्थापना गरिएको थियो। उक्त कोष समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको छ।
समितिका अध्यक्ष डिल्लीराम आचार्यका अनुसार सरकारले उपलब्ध गराएको रकम र समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली गरी प्राप्त हुने रकम यही कोषमा जम्मा गरिन्छ। पछि सरकारले सो रकम शोधभर्ना गर्ने व्यवस्था रहेको छ।
उनले चक्रीय कोषमा उपलब्ध स्रोतका आधारमा बचतकर्तालाई प्राथमिकताका साथ क्रमिक रूपमा रकम फिर्ता गर्ने कार्य जारी रहेको बताए। सरकारले समस्याग्रस्त सहकारीमा फसेको बचत सुरक्षित रूपमा फिर्ता गराउने उद्देश्यले ऋण असुली र बचत फिर्ता प्रक्रियालाई तीव्र बनाएको समितिको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे