
काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष विश्वव्यापी प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’प्रमाणपत्रबाट सम्मानित भएको छ। कर्मचारीहरूको प्रत्यक्ष अनुभव र प्रतिक्रियाका आधारमा प्रदान गरिने यो अन्तर्राष्ट्रिय मान्यताले कम्पनीको कार्यसंस्कृति, नेतृत्व तथा कर्मचारीमैत्री वातावरणलाई पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस वर्ष गरिएको मूल्याङ्कनमा ८७ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन्। यस्तै, ९१ प्रतिशत कर्मचारीले कम्पनीलाई समग्रमा उत्कृष्ट कार्यस्थलका रूपमा मूल्याङ्कन गरेका छन् भने ९६ प्रतिशतले कार्यस्थललाई शारीरिक रूपमा सुरक्षित रहेको बताएका छन्। त्यस्तै, ९४ प्रतिशत कर्मचारीले मेटलाइफमा कार्यरत हुन र कम्पनीले समाजमा पुर्याएको योगदानप्रति गर्व महसुस गर्ने प्रतिक्रिया दिएका छन्।
‘ग्रेट प्लेस टु वर्क’ विश्वभर कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वको मूल्याङ्कन गर्ने अग्रणी संस्था हो। यसले कर्मचारीको विश्वास, सम्मान, सहकार्य र समावेशी कार्यसंस्कृतिका आधारमा संस्थाहरूलाई प्रमाणित गर्दै आएको छ।
ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस–कुलीनले ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गर्नु प्रतिष्ठित उपलब्धि भएको उल्लेख गर्दै कर्मचारी अनुभवलाई निरन्तर उत्कृष्ट बनाइराख्न सफल संस्थाले मात्र यस्तो मान्यता प्राप्त गर्ने बताइन्। उनका अनुसार लगातार दोस्रो पटक यो प्रमाणपत्र प्राप्त गर्नु मेटलाइफ नेपालले कर्मचारीमैत्री कार्य वातावरण निर्माणमा निरन्तरता दिएको स्पष्ट संकेत हो।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले लगातार दोस्रो वर्ष यो सम्मान प्राप्त हुनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले यो उपलब्धि कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्यको प्रतिफल भएको उल्लेख गर्दै प्रत्येक कर्मचारीले सम्मानित, सशक्त र आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सक्ने समावेशी तथा सकारात्मक कार्य वातावरण निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताए।
कम्पनीका अनुसार गत एक वर्षमा आधुनिक प्रविधियुक्त प्रधान कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा तथा कल्याणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यस्ता पहलले कर्मचारी अनुभवलाई थप सुदृढ बनाउनुका साथै सुरक्षित, सम्मानजनक र प्रेरणादायी कार्य वातावरण निर्माण गर्न सहयोग पुगेको जनाएको छ।
ग्रेट प्लेस टु वर्कको अनुसन्धानअनुसार प्रमाणित संस्थामा रोजगारी खोज्ने व्यक्तिहरूले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४.५ गुणा बढी हुन्छ। यस्तै, त्यस्ता संस्थाका कर्मचारी कामप्रति ९३ प्रतिशत बढी उत्साहित हुने, निष्पक्ष पारिश्रमिक तथा पदोन्नतिका समान अवसर प्राप्त गर्ने सम्भावना पनि अन्य कार्यस्थलको तुलनामा उल्लेखनीय रूपमा बढी रहने अध्ययनले देखाएको छ।
सन् १८६८ मा स्थापना भएको मेटलाइफ विश्वका अग्रणी वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। कम्पनीले जीवन बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै ४० भन्दा बढी बजारमा सेवा विस्तार गरेको छ। नेपालमा मेटलाइफले अमेरिकी जीवन बीमा कम्पनी शाखामार्फत सन् २००१ देखि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे