
एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजिसी) ले अमेरिकाले आफ्नो सैन्य गतिविधि नरोकेसम्म हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ। हर्मुज जलघाँटी विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल र ग्यास ढुवानी मार्गमध्ये एक हो। यो मार्ग बन्द हुँदा विश्वभर ऊर्जा आपूर्तिमा असर पर्ने र तेलको मूल्य बढ्न सक्ने चिन्ता बढेको छ।
आईआरजिसीले अमेरिकासँग सम्बन्धित अन्य तेल र ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य संरचनामाथि आक्रमण गरिएको दाबी पनि गरिएको छ।
आईआरजिसीले अमेरिकाले समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल र ग्यास आपूर्तिमा असर पार्ने प्रयास गरेको आरोप लगाएको छ। त्यसको प्रतिक्रिया स्वरूप अमेरिकाका सहयोगी देशहरूले प्रयोग गर्ने अन्य ऊर्जा मार्गहरू पनि प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। तर कुन मार्ग जोखिममा पर्न सक्छ भन्नेबारे खुलाइएको छैन।
आईआरजिसीले “तेल र ग्यास निर्यात सबैका लागि हुनेछ, नभए कसैका लागि पनि हुने छैन” भन्दै कडा चेतावनी दिएको छ। उता अमेरिकाले भने इरानले हर्मुज जलघाँटी पूर्ण रूपमा नियन्त्रण गर्न नसक्ने दाबी गर्दै अन्तर्राष्ट्रिय समुद्री मार्ग खुला राख्न आवश्यक कदम चालिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे